पोखरामा साहसिक पर्यटनको पर्याय बनेको हट एयर बेलुनमा यतिबेला पर्यटकहरूको आकर्षण निकै बढेको छ। वर्षायाम सकिएसँगै असोज ९ गतेदेखि यसको व्यावसायिक उडान पुनः सुरु भएको हो। बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार यस सिजनमा बेलुनमा उड्न चाहने पर्यटकहरूको चाप उल्लेख्य छ। विशेषगरी गत वर्षको अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको सफल प्रचारप्रसारका कारण पनि यस पटक धेरै पर्यटकहरूले उडानका लागि चासो देखाएका हुन्। अघिल्लो वर्ष टिकट नपाएर उड्न नपाएकाहरूले समेत यस वर्ष पहिले नै बुकिङ गरिरहेका छन्।
बिज्ञापन
यो उडान दैनिक दुई सत्रमा सञ्चालन हुने गरेको छ। बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म पामेबाट उडान सुरु हुन्छ। करिब ३० देखि ४० मिनेटको उडान अवधिमा पर्यटकहरूले ९ हजार फिटको उचाइबाट माछापुच्छ्रे र अन्नपूर्ण जस्ता हिमशृङ्खलाको मनमोहक दृश्य देख्न सक्छन्। साथै फेवाताल, पुम्दीकोटको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपा र पोखरा सहरको ३६० डिग्री दृश्यावलोकन गर्न पाउनु यसको अर्को मुख्य विशेषता हो।
बिज्ञापन
शुल्कको हकमा नेपाली नागरिकका लागि ११ हजार रुपैयाँ तोकिएको छ भने सार्क तथा चिनियाँ पर्यटकका लागि १२० डलर र अन्य विदेशीका लागि १५० डलर निर्धारण गरिएको छ। यस शुल्कमा लेकसाइडबाट पिकअप र ड्रप गर्ने सेवा समेत समावेश छ। यसअघि आयोजित अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्व पर्यटन बजारमा नयाँ पहिचान दिलाएको र त्यसैको प्रभावले अहिले पोखरामा यो साहसिक खेलको लोकप्रियता चुलिएको अध्यक्ष बाडेले बताउनुभयो।
















