हरिनास, स्याङ्जा स्याङ्जाको हरिनास गाउँपालिकाले स्थानीय महिलाहरूको सीपलाई व्यावसायिक रूप दिँदै आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ ढाका बुनाइ सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत महिला तथा जनजाति समुदायको क्षमता विकासका लागि यो विशेष पहल सुरु गरिएको हो। ३५ दिनसम्म सञ्चालन हुने यस तालिममा गाउँपालिकाका सबै ७ वटै वडाका महिलाहरूलाई सहभागी गराइनेछ।
बिज्ञापन
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माद्वारा जारी सूचना अनुसार तालिममा सहभागी हुनका लागि निश्चित मापदण्ड समेत तोकिएको छ। प्रत्येक वडाबाट ३ जना महिला सहभागी हुने यस कार्यक्रममा २ जना जुनसुकै समुदायका महिला र १ जना अनिवार्य रूपमा आदिवासी जनजाति समुदायको हुनुपर्ने व्यवस्था गरिएको छ। सहभागी हुने महिला १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने विशेष गरी परिवारमा कोही पनि रोजगारीमा नभएका र विपन्न वर्गका महिलाहरूलाई प्राथमिकता दिइनेछ।
बिज्ञापन
यो कार्यक्रमले “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार: भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको आधार” भन्ने हरिनासको मूल मन्त्रलाई सघाउ पुर्याउने विश्वास गरिएको छ। तालिम लिन इच्छुक र योग्य महिलाहरूले आफ्नो वडा कार्यालय मार्फत सात दिनभित्र नाम दर्ता गराउन सक्नेछन्। व्यावसायिक रूपमा अगाडि बढ्न चाहने र लगनशील महिलाहरूलाई छनोट गरी उनीहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यो लगानी गरेको हो।

















