काठमाडौँ — नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस २९ गते आफ्नो केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ। मंगलबार साँझ पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको परामर्श बैठकले सोही दिन केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्ने र शपथ ग्रहण गराउने निर्णय गरेको हो।
बिज्ञापन
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पुस २९ गतेलाई केन्द्रीय कमिटीलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने अन्तिम मिति तय गरिएको जानकारी दिनुभयो। अर्का नेता तथा पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार २९ गतेभित्रै पार्टीका सबै संगठनात्मक संरचनाहरू तयार पारिसक्ने र काठमाडौँमा उपलब्ध सदस्यहरूलाई केन्द्रीय स्तरमा तथा बाहिर रहेकाहरूलाई प्रदेश स्तरमा शपथ खुवाउने तयारी भइरहेको छ।
बिज्ञापन
गत कात्तिक १९ गते १० वटा विभिन्न कम्युनिस्ट घटकहरूबीच ऐतिहासिक एकता भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ को घोषणा गरिएको थियो। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रक्रियासम्म आइपुग्दा यस पार्टीमा १६ वटा विभिन्न राजनीतिक समूह र स्वतन्त्र व्यक्तिहरू समाहित भइसकेका छन्।
भदौमा भएको ‘जेनजी’ आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिमा सुशासन र समाजवादको लक्ष्यसहित यो बृहत् वाम एकता भएको नेताहरूले दाबी गर्दै आएका छन्। यस नयाँ पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह-संयोजक रहनुभएको छ। पुस २९ को घोषणासँगै पार्टी पूर्ण रूपमा चुनावी अभियानमा होमिन सजिलो हुने अपेक्षा गरिएको छ।
















